
माघे मेलाको अवसरमा सिक्किम सरकारको निम्तोमा आफ्नो प्रस्तुती दिन त्यहाँ पुगेका चर्चित गायक प्रमोद खरेललाई दर्शकले उल्लेख्य साथ दिएका छन् । सिक्किमको जोरथांग स्थित मैदानमा गायक खरेललाई हजारौं दर्शकले साथ दिए । आफ्नो सांगितिक ब्याण्ड सहित स्टेज उत्रिएका खरेलले लगातार २ घण्टा बढि आफ्ना गीतहरु मार्फत दर्शकलाई झुमाए ।
१० जना ब्याण्ड समुह लिएर स्टेज उत्रेका उनले आफ्नो लोकप्रिय गीत ‘म बॉचेकै तिमी सँग माया लाउन हो’ बाट कन्सर्टको शुरुआत गरेका थिए । त्यसपछि उनले आफ्ना चर्चित गितहरु ‘मेरो दिल छ पोखरा’, ‘हंगामा भो’ , ‘ओए झुमा’ , ‘यो कुरा गोप्य’ लगायतका गित प्रस्तुत गरेका थिए । सिक्कममा भएको अहिले सम्म भएका कार्यक्रममा यो सबैभन्दा भव्य बनेको आयोजक कमिटीका प्रकाश सेञ्चुरीको दाबी छ । गायक खरेलको कन्सर्टमा सहभागी हुन सिक्किमका विभिन्न स्थानबाट दर्शक आएका थिए ।
प्रायः ट्रयाक सिस्टममा गाउने गायक खरेल आज भोलि लाइभ ब्याण्डको साथमा देखिन थालेका छन्। ‘ब्याण्ड लिएर हिड्न सजिलो छैन। तर कन्सर्ट भनेकै लाइभ हो ट्रैक हैन, यसको मज्जा छुट्टै छ’ गायक प्रमोदले भने, ‘आयोजकलाई कन्भिन्स गर्न गार्हो पर्छ खर्च को हिसाबले तर कार्यक्रमको लेभल नै फरक हुन्छ । म लाइभ कन्सर्ट लाइ नै जोड़ दिदैछु बरु संख्य मा कटौती गरेर भए पनि श्रोता लाइ बास्तबिक कन्सर्ट को स्वाद दिन लागि परेको छु ।’
यस अघि ब्याण्ड सहित नेपालगंज, काठमांडू, झापा, भारतको असममा स्टेज प्रस्तुति दिएका गायक खरेलले नेपाली नयॉ वर्षमा दुबईमा कन्सर्ट गर्ने तयारी गरेका छन् ।