
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा सांसद इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।
सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो। सांसद सोबिता गौतमले उपसभामुख पदमा पार्टीबाट इन्दिरा राना मगरलाई पठाउने सर्वसम्मत निर्णय भएको जानकारी दिइन्। उनको प्रस्तावक सोबिता नै बस्ने भएकी छिन् ।
यसअघि सोबिता उपसभामुख हुने चर्चा थियो । गौतमले उपसभामुखमा आफूले दाबी र आकांक्षा राख्नु स्वभाविक भएको प्रतिक्रिया दिइन्। ‘कसलाई पठाउँदा उपयुक्त हुन्छ भनेर सर्वसम्मतिले उहाँलाई उम्मेदवार बनाइएको हो,’ गौतमले भनिन्।
उपसभामुख उम्मेदवार इन्दिरा झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट समानुपातिक सांसद बनाएको थियो । उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्।
सभामुखमा एमालेबाट देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उनी पनि झापाकै हुन् ।