
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नेपाल टी–२० लिगमा फिक्सिङ भएको निस्कर्षमा पुगेको छ।
५ सदस्यीय समिति बनाएर अनुसन्धान गरिरहेको सीआईबी स्पट फिक्सिङ भएको निस्कर्षमा पुगेको हो।
‘प्रतिवेदन लगभग निस्कर्षमा पुगेको छ। अहिलेको हाम्रो छानबिनले फिक्सिङ भएका पर्याप्त आधार देखाएको छ।'
सीआईबीका प्रवक्ता कमल थापाले साझा पोष्टसँग भने, 'संलग्न व्यक्तिहरु पनि खुलिसकेको छ। ’
अहिले नै व्यक्तिकाे नाम र संख्या बताउन नमिल्ने थापाले बताए। अर्को हप्ता प्रतिवेदन सार्वजनिक हुनेछ ।
थापाले भने‘आउने हप्ताको सुरुमै प्रतिवेदन सार्वजनिक गर्छौं र फिक्सिङमा संलग्नहरु पनि सार्वजनिक गर्छौं। ’ संलग्न व्यक्तिहरु कानुनको दायरामा आाउने पनि उनले जानकारी दिए ।
फिक्सिङको आशंका देखिएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो।
छानबिनका क्रममा राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ, आयोजक र खेलाडीहरुसँग सीआईबीले सोधपुछ गरेको थियो। यस्तै क्रिकेटका जानकारसँग पनि सीआईबीले सोधपुछ गरेको थियाे ।
पुस ९ गतेदेखि कीर्तिपुर मैदानमा भएको लिग सुरुबाटै बिबादमा परेको थियो। यस्तै खेल अस्वाभाविक देखिएको भन्दै फिक्सिङको आशंका गरिएको थियो। कमेन्टेटर र क्यानकै एकजना सदस्यले फिक्सिङ भैरहेको बताएका थिए ।