Sajha Post
फुटबलर विदेशिने क्रम जारी, दुई दिनमा राष्ट्रिय टोलीका पाँच खेलाडी अष्ट्रेलिया पुगे 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी विदेशिने क्रम रोकिएको छैन । फुटबल विकास र व्यवशायिकता केवल कागजमै सीमित भएपछि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन अस्ट्रेलियालाई पहिलो रोजाइमा राखेका छन् । 

फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल विकासको दीर्घकालीन योजना लागू गर्न नसक्नु र घरेलु प्रतियोगितालाई समेत निरन्तरता प्रदान गर्न नसक्दा खेलाडी प्रत्येक महिनाजसो विदेशिएका छन् । 

अप्रत्यक्ष रूपमा यसले नेपाली राष्ट्रिय टोलीलाई मात्र नभएर घरेलु क्लबले समेत ठूलो नोक्सानी सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । अहिले लगभग राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी अस्ट्रेलिया पुगेका छन् । लगभग ३० जनाभन्दा धेरै खेलाडीले नेपाल छाडेर अस्ट्रेलियामा आफ्नो भविष्य निर्माण गरिरहेका छन् । 

यसै साता मात्र नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी २४ घन्टाको अन्तरमा अस्ट्रेलिया पुगे । गत मंगलबार तीन नियमित सदस्य तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलियातर्फ लागे । 

त्यसको भोलिपल्ट बुधबार राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकर रन्जन विष्ट र अट्याकिङ मिडफिल्डर नीतिन थापा पनि अस्ट्रेलिया पुगे । तेज, दिनेश, गौतम, रन्जन र नीतिनले नेपालाई दक्षिण एसियाली खेकलुद (साग) मा स्वर्ण पदक दिलाएका थिए । 
तेज, दिनेश, गौतम र नीतिन वर्तमान समयकै राष्ट्रिय टोलीका नियमित र भरपर्दा खेलाडीमा पर्छन् । 

खेलाडीले एन्फा र आफू आबद्ध क्लबलाई कुनै पनि जानकारी गराएका छैनन् । विनाजानकारी एकपछि अर्को गर्दै खेलाडी बिदेसिँदा एन्फा मूकदर्शक भएर बसेको छ । 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update