Sajha Post
के दुखेको छैन ?!

के दुखेको छैन ?!

ज्यान दुखेको हैन

मन कसले दुखाएको छ र दुख्नु ??

तर खै,

के दुखिरहेको छ,

अचम्मसँग दुखिरहेको छ !

कहाँ दुखिरहेको छ

किन दुखिरहेको छ, थाहा छैन

तर खै,

के दुखिरहेको छ,

अचम्मसँग दुखिरहेको छ !

जति जोडले हाँसिरहेको छु,

उति जोडले दुखिरहेको छ !

जति पटक

‘म ठीक छु’ भनिरहेको छु,

उति पटक बेतोडले दुखिरहेको छ !

दुःख हैन, दुखाइ हो यो !

दुःख भए त

‘म दुःखी हुँ’ भनिदिन्थें

सहानुभूतिको मलम मोलिमाग्थें !

‘म दुःखी हुँ’ भन्नै

नसक्ने गरी दुखिरहेको छ !

खै के दुखिरहेको छ,

अचम्मसँग दुखिरहेको छ !

छैन छैन,

रोएको छैन,चिच्याएको छैन

हारगुहार कतै गरेको छैन,

कसैले थाहा नपाउने गरी दुखेको छ !

थाहै नपाए पछि कसरी पत्याउनु,

कसैले नपत्याउने गरी दुखेको छ !

खै के दुखेको छ,

अचम्मसँग दुखेको छ !

छाती दुखेको हैन, सास दुखेको छ !

मगज दुखेको हैन, आस दुखेको छ !

खुट्टा दुखेको हैन, पाइला दुखेको छ !

हात दुखेको हैन, हत्केला दुखेको छ !

पासपोर्ट दुखेको छ,

सिरानीको फोटो दुखेको छ,

दराजका सर्टिफिकेट दुखेका छन,

छोरीको बर्थडेको नाम पारी

खुत्रुकेमा बँचाएका दुई थान

हजारका नोट दुखेका छन !

भाग दुख्नलाई

अधिकार दुख्नु नपर्दो रहेछ !

भाग्य दुख्नलाई

निधार दुख्नु नपर्दो रहेछ !

देश दुखे पछि

धेरैथोक दुख्दो रहेछ !

यतिबेला मेरो

कलम दुखेको छ !

देख्नेका आसा दुखे भने

लेख्नेका अक्षर दुखे भने

सोध्नेका प्रश्न दुखे भने

बताउनेका उत्तर दुखे भने

के बाँकि रहला दुख्नलाई यहाँ ??

दुखेको देशको नागरिकलाई

‘के दुख्यो’ भनी नसोध्नू साथी,

मलाई मेरो नागरिकता दुखेको छ !!

✍️ हेमन्त गिरी

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update