Sajha Post
कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो । 

यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै आलोचना भएको थियो । 

Samsad_Patra1674476775.jpg

संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछ । प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत्त मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धन सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ ।

विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुई दुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एक-एक जना दिइन्छ । अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटर सहितका सामग्री, दुई वटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्दछ ।

पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका थिए । प्रचण्डले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए।
 

 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update