Sajha Post
पल्सर स्पोर्टस् अवार्ड फागुन २३ गते हुने

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औं संस्करण फागुनमा हुने भएको छ ।

 नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार पत्रकार सम्मेलनको घोषणा गर्दै अवार्ड फागुन २३ गते हुने जानकारी दिएको हो ।

२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने 
कार्यक्रममा यस पटक  ९ विधामा अवार्ड प्रदान गरिनेछ । 

त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला,  वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड छ । 

वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने जनाईएको छ ।  

मनोनयन नहुने विधाहरु लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ। यसपटक वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गरिने एनएसजेएफले जनाएको छ ।  

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।  

यस वर्ष पनि स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको एनएसजेएफले जनाएको छ । एनएसजेएफले सोमबार नै मुख्य प्रायोजक हंशराज हुलासचन्दसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतामा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ९देवेन्द्र० र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update