1674537557.jpg)
कर्णाली प्रदेश र सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लाहरू वर्षा सँगै हिमपात भएको छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट र सुदूरपश्चिमको बैतडीसहितका पहाडी जिल्लाहरुमा हिमपात भएको हो ।
बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । सिगासका किसान दानसिंह बोहराका अनुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो ।
चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । हिमाली जिल्लाहरुमा परेको हिमपातले कोदो, चिनु, कागुनो, फापरलगायतका कात्तिके बाली राम्रो हुने त्यहाँका किसान बताएका छन् । त्यस्तै, कालिकोट हिउँदे वर्षा भएपछि त्यहाँका किसानहरू खुसी भएका हुन् ।
खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए ।