
काठमाडौं । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई क्रिकेटरविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो ।
नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आदिल अन्सारी पक्राउ परेका थिए । आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट सोमबार पक्राउ परेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट नेपाल टी–२० लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ ।
प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । सीआईबीका अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ ।
जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापक नै संलग्नता देखिएका हुन् ।