
काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेकोले एकिन विवरण आउन सकेको छैन। भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन्।
बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। जिल्ला अस्पताल बझाङको भवन पनि चर्किएको छ।
चैनपुरमा रहेको एउटा घरको चौथो तलामाथि निर्माण गरिएको मन्दिर पनि भत्किएको छ।
बझाङमा केही अन्य घरहरुमा पनि क्षति पुगेको छ। बाजुरा बडिमालिका नगरपालिकामा एक दर्जन घरमा क्षति पुगेको प्रारम्भिक आएको छ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ।