Sajha Post
ब्यूटी पेजेन्टका सञ्चालक मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूराचार गरेको अदालतको ठहर

काठमाडौं । ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको छ।

पाण्डेले  सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको भन्दै दोषी ठहर गरेको हो। 

मंगलबार जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले  पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र पिडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ। 

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। 

किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ। २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्।  बलात्कार मुद्दामा हदम्याद गुज्रिएपछि सरकारी वकिलले मानव बेचविखन र बाल यौन दुर्व्यवहारमा मुद्दा चलाएको थियो। यो घटनापछि बलात्कारका घटना उजुरी दर्ता गर्ने हदम्याद हटाउनुपर्ने माग उठेको थियो। व्यवस्थापिका संसदले बलात्कारमा उजुरी गर्ने म्याद बढाएर २ वर्ष पुर्याएको छ। 
 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update