Sajha Post
बागमतीमा माओवादी र एमालेले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने, शपथ आजै

काठमाडौं । बागमती प्रदेशका मन्त्रीहरुको टुंगो लागेको छ । प्रदेशमा एमाले र माओवादीले चार चार तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएको हो । सहमति भएअनुसार दलहरुले आआफ्ना मन्त्रीको नाम पनि टुंगो लगाएका छन् ।

नेकपा एमालेबाट श्रम रोजगार तथा यातायातमन्त्रीमा मकवानपुरका एकालाल श्रेष्ठ, स्वास्थ्यमा ललितपुरका रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा काठमाडौंका केशवप्रसाद पोखरेल  बन्ने भएका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । 

यसैगरी माओवादीबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा सिन्धुलीका गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमा सिन्धुपाल्चोकका युवराज दुलाल  र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।

राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई, डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी विकास र राजु बिष्ट वन तथा वातावरण  मन्त्री बन्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update