Sajha Post
प्रेमप्रसादलाई न्यायको माग गर्दै प्रदर्शन 

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्य र उनीजस्तै लाखौँ नेपाली युवाका लागि न्यायको माग गर्दै काठमाडौमा प्रदर्शन भएको छ ।

नागरिक समाजका अगुवा र युवाहरूले प्रदर्शन गरेका हुन ।  उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।


काठमाडौंको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वर पुगेका उनीहरूले ‘सरकार गरिखान दे, प्रेमप्रसाद आचार्यको आत्महत्या होइन हत्या हो, अर्को जल्दो शरीर मेरो नहोस्, यो देश हो कि बधशाला रु’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरे । 

prem hatya1674670856.jpg

उनीहरूले सीमान्तकृत दलित, महिला र मजदुरहरूको जीवनस्तर माथि उठ्न नसकिरहेको अवस्थालाई उजागर गरेको बताए । 

नागरिक अगुवा एवं लेखक सञ्जिव उप्रेतीले आचार्यको आत्मदाहले नेपाली अर्थ सामाजिक व्यवस्थाको मारमा परेको संघर्षशील युवाको जीवनलाई उजागर गरेको बताए । ‘प्रेम आचार्यको हाम्रो अर्थ सामाजिक व्यवस्थाले सधैँ पिँधमा पुर्‍याइरहेको देखिन्छ,’ उनले भने, ‘यो उहाँको अवस्था हो । तर यही अवस्था अहिले लाखौँ नेपालीले बेहोर्न बाध्य छन् ।

उनीहरूले आचार्यले राखेका २५ बुँदे मागहरू पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताएका छन् ।आचार्यले मंगलबार अपरान्ह संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । आगोले जलेर अस्पताल पुर्‍याइएका उनको बुधबार बिहान मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update