
एजेन्सी। अमेरिकाले युक्रेनमा ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने भएको छ । जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड-२ लडाकु ट्यांक पठाउने घोषणा गरेको एकदिन पछि अमेरिकाले पनि एम वन अब्राम ट्यांक पठाउने निर्णय गरेको हो ।
रुसी आक्रमणविरूद्ध लड्न पठाउने ट्यांक जर्मनीसँग सहकार्य गरेर परिचालन गरिने अमेरिकी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । जर्मनीले १४ वटा लियोपार्ड-२ ट्यांक पठाउनेछ ।
युक्रेनले महिनौंदेखि सैन्य उपकरण पठाउन पश्चिमी सहयोगीहरूलाई आग्रह गर्दै आएको छ।
युक्रेनकै योजना अनुसार युरोपेली देश र अमेरिकाले पनि अत्याधुनिक ट्यांक पठाउने निर्णय गरेका हुन् । रुसले युक्रेनमा आक्रमण थालेको आउँदो महिना एक वर्ष पुग्दैछ । युक्रेनले रुसी सेनालाई आफ्नो देशबाट फिर्ता पठाउने लक्ष्यका साथ विभिन्न योजना बनाएको छ ।
जर्मनी र अमेरिकाले ट्यांक पठाउने निर्णय गरेकाेमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन् । 'विजयको बाटोमा यो एउटा महत्त्वपूर्ण पाइला हो । आज युक्रेनको मुक्तिको लागि पहिले कहिल्यै नभएको जस्तो संसार एकजुट छ,' जेलेन्स्कीले भनेका छन् ।
यसैबीच, रुसले यो कदमलाई उत्तेजक भन्दै निन्दा गरेको छ । उसले आपूर्ति गरिएका कुनै पनि ट्याङ्कहरू नष्ट गरिने बताएको छ। 'जति महँगा भएपनि यी ट्याङ्कहरू अरू सबैजस्तै जल्छन्,' राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने।
'हामी युक्रेनलाई कुनै पनि हालतमा विदेशीको परेडस्थल हुन दिनेछैनौँ, जतिसुकै अत्याधुनिक हतियार भएपनि हामीले ध्वस्त पारिदिनेछौँ ।' उनले चेतावनी दिएका छन् ।