
सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनको सुझाव छ ।
दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।
बाँकेलाई दुई वर्ष अघि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । तर अहिले त्यही जिल्ला दादुराको हटस्पट बनेको छ । जिल्लामा दैनिक सरदर १४/१५ जना दादुरा संक्रमित बालबालिका थपिनेक्रम जारी रहेको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन् । बाँकैपछि सुर्खेतमा दादूरा फैलिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।