
सुर्खेत । जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दा घर बाहिर निस्केर आगो तापेर बसेका थिए ।
प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दुःख पाएका बताए ।
उनले यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने बताए । यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि केसीको भनाइ छ ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताएका छन् ।