Sajha Post
ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट : नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा कायमै

काठमाडौं । काठमाडौँ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । 
सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।

नेपालमा यो पटक केही सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै रहेको ट्रान्सपरेन्सीले पत्रकार सम्मेलन गरी  जानकारी दिएकाे छ । 

सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीको ११० औं स्थानमा छ । सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो ।

सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सीले जनाएको छ ।


सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण एशियाली राष्ट्रमध्ये भुटानले ६८ अङ्क (२५ औं), मालदिभ्सले ४० अङ्क (८५ औं), भारतले ४० अङ्क (८५ औं), श्रीलङ्काले ३६ अङ्क (१०१ औं), नेपालले ३४ अङ्क (११० औं), पाकिस्तानले २७ अङ्क (१४० औं), बङ्गलादेशले २५ अङ्क (१४७ औं) र अफगानिस्तानले २४ अङ्क (१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क (६५ औं) प्राप्त गरेको छ ।

सन् २०२२ मा विश्व बैंक, वर्लड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानेर सबैभन्दा बढी र कम भ्रष्टाचार हुने देशहरुको सूची सार्वजनिक गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जानकारी दिएकी छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update