
पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।
मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएर राजीनामा मागेका हुन् ।
अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन। ७ केन्द्रीय सदस्यले अध्यक्षसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको पनि राजीनामा माग गरेका छन् ।
६ जना कार्यसमिति बैठकस्थलमै छन् भने अस्वस्थ भएका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा मागेका थिए ।
बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ ।जसमध्ये मुख्य एजेन्डा नेपाल टी-२० लिग प्रतियोगिता सम्बन्धि छ ।त्यस्तै पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल हुनेछ