Sajha Post
चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि एक लाख जरिवाना 

काठमाडौं। चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्प कारबाहीमा परेका छन् । नेपाल आयल निगमले दुईवटा पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ ।  

निगमले बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित भण्डार आयल स्टोर र कसरा गाउँपालिकास्थित दिलिप ट्रेडर्सले ट्यांकर चालकसँगको मिलोमतोमा डिजेल खरिद गरेको भन्दै ती पम्पलाई कारबाही गरेको जनाएको छ । 

निगमको करार सम्झौतामा संचालित ढुवानीकर्ता गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकरबाट इन्धन चोरी भएको थियो ।  निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जवाट २०,००० लिटर डिजेल लोड गरी प्रादेशिक कार्यालय, विराटनगरको नाममा स्टक ट्रान्सफर गरिएको उक्त ट्यांकर इलाका प्रहरी कार्यालय रुपनी, सप्तरीभन्दा करिब २ किलो मिटर उत्तर तर्फ कच्ची सडकमा माघ १४ गते फेला परेको थियो । 

ट्यांकरमा लोड गरिएको डिजेल अवैध रुपमा बिक्री गरी वेवारिसे अवस्थामा फेला परेपछि प्रहरी प्रशासन र निगमबाट स्थलगत अध्ययन एवं अनुसन्धान गर्दा अवैध रुपमा बेचबिखन भएको खुलेको थियो ।  

निगमको अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड लिई निगमले तोकेको स्थानसम्म सुरक्षित साथ ढुवानी नगर्ने चालक र सहचालकलाई भविष्यमा पेट्रोलियम पदार्थको ढुवानी कार्यमा संलग्न हुन नपाउने गरी बन्देज लगाएको छ । 

machhapuchhre bank

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update