Sajha Post
सूचना दिन इन्कार गर्ने चार कार्यालय प्रमुखलाई १५ हजारसम्म जरिवाना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८, ०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको उल्लेख गरेको छ । 

कारबाहीमा पर्नेमा पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवं कार्यकारी निर्देशक घनश्याम खतिवडा, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका कार्यालय प्रमुख धनप्रसाद पण्डित छन् ।  

सजाय तथा क्षतिपूर्ति सम्बन्धित व्यवस्थाको दफा ३२ मा मनासिव कारणबिना सूचना नदिएको वा दिन इन्कार गर्ने कार्यालय प्रमुख वा सूचना अधिकारीलाई एक हजारदेखि २५ हजारसम्मको जरिवानाको व्यवस्था छ । जरिवानासँगै विभागीय सजायका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ । 

सोही व्यवस्थाअनुसार खतिवडालाई  १५ हजार, पण्डितलाई रु १५ हजार, पौडेललाई दश हजार र ठाकुरलाई  दश हजारको जरिवानासहित विभागीय सजायका लागि पत्र पठाइएको हो ।

आर्थिक वर्ष ०७८, ७९ मा दर्ता भएका एक हजार ८३ पुनरावेदनमध्ये एक हजार ७७ पुनरावेदन अर्थात् ९९ दशमलव चार प्रतिशत पुनरावेदन फर्छ्योट भएको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित उजुरी परेको बताए । रासस

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update