Sajha Post
टी-२० मा भारतको कीर्तिमानी जित, न्यूजिल्याण्डविरुद्धकाे  श्रृंखला कब्जा

 काठमाडौं । भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित हासिल गरेको छ । यो टी-२० क्रिकेटमा रन अन्तरमा भारतको सबैभन्दा ठूलो जित हो ।

यसअघि  सबैभन्दा बढी रनको जितको रेकर्ड १४३ थियो । भारतले सन् २०१८ मा आयरल्याण्डलाई १४३ रनले हराएको थियो । जितसँगै भारतले तीन खेलको श्रृंखला २-१ ले जितेको छ । राँचीमा भएको सिरिजको पहिलो म्याच न्युजिल्याण्डले २१ रनले जितेको थियो । लखनउमा भएको दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम खेलमा भारतका शुभमन गिल नायक सावित भए । उनले ६३ बलमा १२६ रन बनाए । गिलको  यो अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पहिलो शतक  हो । गिलले ७ छक्का र १२ चौका प्रहार गरे ।   राहुल त्रिपाठीले २२ बलमा ४४ र कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन जोडे ।

भारतले दिएको २३५ रनको लक्ष्य पछयाएको न्युजिल्याण्ड भारतीय बलिङ सामू धराशायी भयो । पाहुना टोली १२.१ ओभरमा ६६ रनमा अलआउट भयो ।भारतका लागि कप्तान हार्दिक पाण्ड्याले  सबैभन्दा बढी चार विकेट लिए । उनले आफ्नो चार ओभरमा १६ रन खर्चिए  । यसैगरी अर्शदीप सिंह, उमरान मलिक र शिवम माविले दुई-दुई विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update