Sajha Post
रविलाई गृहमन्त्री नदिए अप्ठ्यारो पर्न सक्छ, कांग्रेस गृह राज्यमन्त्री पाएपनि सरकारमा आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने टिप्पणी गरेका छन् । 

विराटनगरमा पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’ ओलीले यही विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेको बताए। प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रालय आफैले राख्ने बताएपछि ओलीको यस्तो भनाइ आएको हो । 

उनले भने, ‘कुन कुन पार्टीले के–के लिन सहमति पहिल्यै भएको हो। त्यही अनुसार जानुपर्छ। रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल भइरहेको छ। खटपट भएको छैन।’

अध्यक्ष ओलीले त्यति बेला गृहमन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै त्यही अनुसार रास्वपाले रवि लामिछानेलाई गृहमन्त्री बताएको बताए । ‘उनीहरूलाई गृह मन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन’ ओलीले भने । 

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस राज्यमन्त्री दिएपनि सरकारमा आउने दाबी गरे । कांग्रेसलाई गृहमन्त्री दियो भने सरकारमा आउछौं भनेर शशांक कोइरालाले भन्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, गृहराज्यमन्त्री दिएपनि आउँछ।’

उनले कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको टिप्पणी गरे। उनले भने, …कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिन्छु भन्नु । हामीलाई चाहिन्छ भन्नु अनौठो कुरा होइन। माओवादीले भनेको राष्ट्रिय सहमतिमा सत्ता समिकरणअनुसारको उम्मेदवारलाई कांग्रेसले पनि समर्थन गरोस् भन्ने हो।’ 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update