
काठमाडौं । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । उनलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो ।
स्थलमार्गबाट ल्याउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले हवाईमार्गमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले आज बाँकेबाट पक्राउ गरेको हो ।
काठमाडौं ल्याएपछि उनलाई फैसला कार्यान्वयनका लागि कैलालीमा पठाउने सम्बन्धमा निर्णय लिइने प्रहरी स्रोतले बतायो । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।
०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो । कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।