Sajha Post
सरकार छोड्ने\नछोड्ने रास्वपाले दुई दिनपछि मात्रै निर्णय गर्ने, प्रचण्ड र ओलीको फोनले रोकियो 

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय गर्ने भएको छ । 

बिहीबार साँझसम्म बसेको बैठक तत्काल सरकार नछोड्ने निष्कर्षमा पुग्दै दुई दिन पर्खने निर्णय गरेको हो। 

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई दिनको समय माग गरेकाले आग्रह बमोजिम दुई दिनको समय दिइएको रास्वपाका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले जानकारी  दिए । 

‘बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीको पनि फोन आएको थियो’ ढकालले भने, ‘उहाँहरु दुवै जनाले दुई दिनको समय माग्नुभएको थियो। त्यसकारण हामी दुई दिन कुर्न तयार भएका हौँ।’यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उच्चस्तरीय संयन्त्रको बैठक बस्दासम्म दुई दिन सरकार नछोड्न आग्रह गरेको उनले बताए।

सत्तासाझेदार दलहरुको बैठक नबसी निर्णय गर्दा हतारो हुने र उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीले पनि दुई दिन कुर्नुहोस् भनेका कारण आफूहरु तयार भएको ढकालले बताए।ढकालले राजनीतिक दलहरुमा इमान्दारिताको अपेक्षा गरिएको पनि प्रतिक्रिया दिए । यस्तै, उनले गृह मन्त्रालय दिने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि गृहमा कसलाई पठाउने भन्नेबारे निर्णय लिने जानकारी  दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको छ । गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले स्वीकारेनन् ।

केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् । 

बैठकपछि रास्वपाका प्रवक्ता ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले २ दिन पर्खन आग्रह गरेको जानकारी दिए ।'प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर समय माग्नु भएको छ' ढकालले भने,'त्यसैले हामीले अहिले उहाँहरुले गर्नुहुन्छ हेर्छौं । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update