Sajha Post
सांसद चौधरीलाई आज अदालतमा पेश गरिँदै 

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज  जिल्ला अदालत कैलालीमा उपस्थित गराइने भएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा  राखिएको छ । 

१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको सजाय  सुनाएको थियो। मुद्दा परेपछि फरार रहेका कारण उनलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान भएको थिएन् ।  सुरुमै म्याद गुजारेका कारण अदालतले चौधरीलाई पुनरावेदनको म्याद समेत दिएको थिएन।

अब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्नेछ। 

अदालतको आदेशपछि उनलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ। चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध ०७० वैशाख ९ गते जनही ६ महिना कैद र  बिगो भराउने फैसला भएको थियो। उनीहरुलाई  बिगो ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ। कैलाली-२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले सजाय भुक्तान गरेका थिएनन्। पक्राउ परेसँगै उनी सांसदबाट पनि निलम्बनमा परेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update