
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।
वीरगन्जमा आयोजित पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।
सरकारमै रहेका दलहरूले संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी समाप्त गर्ने षडयन्त्र गरिरहेको अध्यक्ष यादवको आरोप छ । यादवले भने, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’
सरकारमै रहेको राप्रपाका मन्त्रीले संघीय संसदमै गणतन्त्र र संघीयता विरोधी अभिव्यक्ति दिएपछि अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभामा १२ सिट भएपनि राष्ट्रय राजनीतिमा जसपाको भूमिका महत्वपूर्ण रहेको भन्ने नबिर्सिन उनले सत्तारुढ दललाई सचेत गराए।