
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि दोस्रो भएका श्रेष्ठ आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जान लागेका हुन् ।
नागरिकता सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले रविलाई गैर नागरिक घोषणा गरेपछि लामिछाने उम्मेदवार बन्न नै अयोग्य भएकाले दोस्रो भएको आधारमा आफूलाई स्वतः विजयी घोषणा गरिनुपर्ने श्रेष्ठको जिकिर छ ।
उनले विहान साढे ११ बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ । यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित गरेका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए ।
पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । तर लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए ।
लामिछानको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको थियो ।