Sajha Post
 लुम्बिनी सरकारले पूर्णता पायो, ७ मन्त्रीले लिए शपथ 

दाङ । लुम्बिनी प्रदेशमा नव नियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन्। 

एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट ३ र राप्रपा र जनमत पार्टीका  एक एक जना गरी १० जनाको मन्त्रीमण्डल बनाइएको छ। यस अघि दुई जना मन्त्री नियुक्त भइसकेका थिए। 

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले अर्थिक मामिला मन्त्री, इन्द्रजित थारुले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिए। एमालेबाट विष्णु पन्थीले स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्रीको रुपमा शपथ लिएका छन्।

जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको रुपमा शपथ लिएका छन। 

यसअघि नियुक्त भएका दुई जना मन्त्रीको जिम्मेवारी तोकिएको छ। एमालेका उपनेता चेतनारायण आचार्यलाइ खानेपानी, ग्रामीण तथा शहरी विकास र माओवादी केन्द्रकी कृष्णा केसिलाइ आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएको छ। 

तर, आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकिएकी कृष्णा केसी शपथ ग्रहण स्थलमा उपस्थित भइनन्। उनले विना बिभागीय मन्त्रीबाट राजिनामा दिएकी थिइन। तर, उनको राजिनामा स्वीकृत नगरी जिम्मेवारी तोकिएको हो । 

लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बन्ने अवसर पाएनन्। बाँकी दललाई संसदीय समितिमा समेट्ने योजना मुख्यमन्त्री लीला गिरीको छ।

नवनियुक्त मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय गरिएको भएपनि शपथका लागि तयार पारिएको मञ्च हावाहुरीले उडाइदिएपछि ढिला गरी शपथ भएको हो । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update