Sajha Post
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गते विश्वासको मत लिने भएका छन्। मंगलबार एमाले र राप्रपाबाहेकका चार दल र स्वतन्त्र सांसदको धनगढीमा भएको छलफलपछि मुख्यमन्त्री शाहले फागुन २१ मा विश्वासको मत लिने तयारी गरेका हुन् ।  

कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने वचन दिएका छन्। यसै साता काठमाडौं पुगेर मुख्यमन्त्री शाहले विश्वासको मत दिने विषयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुलाई भेटेका थिए।

यसअघि एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले कांग्रेसलाई भने समर्थन गर्ने बताएको छ। सत्ता साझेदार दलले कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा केन्द्रका नेताले छलफल गरेर टुंगो लगाउने नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले बताए।

मुख्यमन्त्री शाहले अहिलेकै माहोल भए कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद गरी ४१ जनाको समर्थन  पाउनेछन्। जुन प्रदेश सभा सदस्य संख्या ५३ को दुई तिहाईभन्दा बढी हुन्छ। विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने शाहको तयारी छ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update