Sajha Post
प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव आज प्रदेशसभामा पेस गर्ने तयारी

काठमाडौं । प्रदेश १ को प्रस्तावित नाम आज प्रदेश सभामा टेबल हुने भएको छ । 

पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले  दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै टुङ्गो लगाउने प्रयास अघि बढाएको हो ।  प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी छ । 
 परिस्थिति बिग्रन सक्ने भन्दै  गोप्य राखिएको नाम एकै पटक प्रस्ताव राख्ने, नाममा सबै दलको तर्फबाट समर्थन गर्ने अनि एकै दिनमा पारित गर्ने  योजना रहेको बताइएको छ । 

अघिल्लो संसद्मा प्रदेशको नामकरणको विषयमा टुङ्गो लगाउन दलहरुबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन । नामकरणको टुङ्गो लगाउने विषयमा छलफल हुनासाथ बाहिर पहिचान वादी राजनीतिक पार्टी तथा सङ्घ सङ्गठनहरूले दबाब दिन विभिन्न सङ्घर्षको कार्यक्रम हुन्थ्यो ।

यस पटक पनि सार्वजनिक हिसाबले नामकरणको टुङ्गो लगाउने प्रयास हुँदा अनावश्यक प्रभाव र दबाब आउन सक्ने सम्भावना थियो । त्यही कारण प्रदेशको नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको स्रोतले जनाएको छ ।  

नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुङ्गो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्व सहमतिमा नामको टुङ्गो लगाउने तयारी गरिएको नेताहरुले बताएका छन । 
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update