Sajha Post
रिक्त हुने सबै स्थानको उपचुनाव पनि बैशाख १० मै

राष्ट्रपति निर्वाचनसँगै प्रतिनिधिसभा सदस्यतर्फ रिक्त हुने क्षेत्रको उपनिर्वाचन पनि चितवन २ सँगै एकसाथ गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ का साथै अब रिक्त हुने क्षेत्रको उपनिर्वाचन एकसाथै हुनेछ । 

चितवन २ मा वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तोकिएको छ । त्यसबाहेक फागुन २५ मा हुन लागेको राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकामध्ये निर्वाचित हुनेको क्षेत्र रिक्त हुनेछ । त्यहाँ पनि उपनिर्वाचन हुनेछ । राष्ट्रपति निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल र इलाम २ बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । यी दुईमध्ये निर्वाचित हुनेबाट एक पद रिक्त हुनेछ । त्यस क्षेत्रमा संसदीय उपनिर्वाचन हुनेछ । 

यसैगरी, चैत ३ मा तय भएको उपराष्ट्रपति निर्वाचनमा सांसद उम्मेदवार भएर रिक्त रहेमा उक्त निर्वाचन क्षेत्रमा पनि उपनिर्वाचन हुने थपलियाले बताए । रिक्त रहेका क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्दा यसले खर्च पनि घटाउने आयोगको भनाइ छ । रिक्त भएको चितवन २ र रिक्त भएमा अरू क्षेत्रमा पनि वैशाख १० मा उपनिर्वाचन गर्ने आयोगको तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update