Sajha Post
बेलारुसकी विपक्षी नेतृलाई देशद्रोह र सत्ता कञ्जाको षडयन्त्र गरेको आरोपमा १५ वर्ष जेल सजाय 

काठमाडौं । निर्वासनमा रहेकी बेलारुसकी विपक्षी नेतृ सियात्लाना जिखानासकयालाई देशद्रोह र सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको छ ।

छिमेकी देश लिथुआनियामा निर्वासित जीवन बिताइरहेकी ४० वर्षीया सियात्लानालाई उनको अनुपस्थितिमा  सजाय सुनाइएको हो ।

सियात्लानाले प्रजातन्त्रका पक्षमा वकालत गर्दा आफूलाई दण्डित गरिएको  प्रतिक्रिया दिएकी छन। अंग्रेजी विषयकी पूर्व शिक्षिका सियात्लानाले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग प्रतिष्पर्धा गरेकी थिइन् ।

व्यापक धाँधली भएको भनिएको निर्वाचनमा लुकासेन्को अत्यधिक मतका साथ विजयी भएको घोषणा गरिएको थियो । चुनावी परिणामको विरोधमा चर्किएको आन्दोलनमाथि प्रहरीले व्यापक दमन गर्नुका साथै ३५ हजारभन्दा बढीलाई गिरफ्तार गरेको थियो ।

थुप्रै विपक्षी नेता तथा अभियानकर्ताहरु समातिएका थिए भने सियात्लानालगायतका नेताहरु भागेर छिमेकी देश लिथुआनिया पुगेका थिए ।

निर्वासनमा गएका नेताहरुविरुद्ध देशद्रोह र असंवैधानिक तरिकाले सत्ता कब्जा गर्न खोजेको अभियोगमा मुद्दा चलाइएको थियो ।


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटतम् मित्र लुकासेन्कोलाई यूरोपको अन्तिम तानाशाहका रुपमा व्याख्या गर्ने गरिएको छ । र, उनी करिब तीन दशकदेखि सत्तामा छन । 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update