
एजेन्सी । उत्तरी जर्मनीको ह्याम्बर्गको एक चर्चमा भएको बन्दुक आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ। ‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ। बन्दुक आक्रमणमा मारिने र घाइते हुनेको संख्या एकिन हुन सकेको छैन ।
‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ। जर्मन सञ्चार माध्यमका अनुसार छ वा सात जना मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट छैन।
घटना कुन उद्देश्यले घटाइएको हो भन्नेबारे अझै यकिन हुन नसकेको प्रहरीले बताएको छ। प्रहरी प्रवक्ता होल्गर भेरेनले गोली चलाउने व्यक्ति पनि त्यहीँ भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने बताए।
भवनको माथिल्लो तलामा गोली चलेको आवाज सुनेको प्रवक्ता भेरेनले जानकारी दिए। स्थानीय समय अनुसार बिहिबार राती करिब ९:१५ बजे घटना भएलगत्तै प्रहरीलाई खबर आएको थियो। प्रहरी प्रवक्ताका अनुसार घटनामा संलग्न व्यक्ति भाग्न पाएका थिएनन्।
घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिए पनि घाइतेको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएको छैन। प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ।
ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विट गर्दै प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताए। प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ।