Sajha Post
उपराष्ट्रपतिमा सत्ता गठबन्धनका यादव  निर्वाचित 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। ३० हजार ३२८ मतभार ल्याउँदै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादव सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार  थिए।

एमालेकी अष्टलक्ष्मी शाक्यले २७३ मत ल्याएकी छिन् । प्रदेशतर्फ यादवले ३२९ मत पाउँदा शाक्यले १६९ मत प्राप्त गरेकी छिन् । संघतर्फ यादवले १८४ मत पाउँदा शाक्यको पक्षमा १०४ मत खसेको छ ।

रामसहायलाई समर्थन गरेकी जसपाकै प्रमिलाकुमारी यादवलाई समेत प्रदेशतर्फ एक मत प्राप्त भएको छ । जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ मत पाएकी छिन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका थिए। उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहन्छ।

 राप्रपा र नेमकिपाले निर्वाचनमा भाग लिएका थिएनन्। उपराष्ट्रपति पदको निर्वाचनका लागि यादवसहित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update