
नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको थियो । उक्त क्रममा सभामुख घिमिरेले पत्रकारहरू र संघ बिक्रीमा रहेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।
सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको विज्ञप्तिमा भनिएको छ । सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक आधिकारिक धारणा नआएको पनि महासचिव पुरीले बताएका छन् । महासंघले सभामुख घिमिरेलाई आरोप पुष्टि गर्न वा आरोप फिर्ता लिन आग्रहसमेत गरेको छ ।