
काठमाडौं । नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिँदैछन् । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिए ।
कांग्रेसको यो निर्णयसँगै कांग्रेस संसदमा प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा बस्ने भएको छ । डा महतका अनुसार कांग्रेस सरकारमा सहभागि भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ ।
बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गर्दै मन्त्री पठाउने मापदण्ड बनाएको छ ।