
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।
रास्वपा गत पुसमै सरकारमा सहभागी भएको थियो। तर पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलापछि रविले सांसद र मन्त्री पद गुमाएका थिए । त्यसपछि पार्टीका अन्य मन्त्री पनि सरकारबाट बाहिरिएका थिए। रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो।
प्रधानमन्त्री प्रचण्डले भने दोस्रोपटक सोमबार विश्वासको मत लिँदै छन्। यसअघि पुस २६ गते विश्वासको मत लिँदा संसद्को करिब सबै मत पाएका प्रचण्डले एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन्। रास्वपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएपछि प्रचण्डले सत्तारुढ १० सहित ११ दलका १५७ सहित प्रचण्डले १७६ सांसदको समर्थन पाउने भएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका १० दल विश्वासको मत दिन तयार भएका हुन् । ८७ सिटको कांग्रेस, ३२ सिटको माओवादी केन्द्र, १२ सिटको जसपा, १० सिटको नेकपा एकीकृत समाजवादी, ६ सिटको जनमत पार्टी, ४, ४ सिटका लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, एक सिट भएको राष्ट्रिय जनमोर्चा र सिटको नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन् ।