
काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले प्रश्न उठाएका छन्।
कांग्रेस सांसद रामहरि खतिवडाले सभामुख ‘पत्रकार बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेको भन्दै व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? भनेर प्रश्न गरे।
नेमकिपाका सांसद प्रेम सुवालले पत्रकारहरुको बारेमा सभामुखले अध्ययन गरेरै बोलेको हुनसक्ने भन्दै छानबिन समिति नै बनाउनुपर्ने भनेर व्यंग्यमिश्रित टिप्पणी गरे। उनले सबै पत्रकार त्यस्तो नहुने पनि बताए। ‘कुन–कुन हो पीत पत्रकारिता चलाउने ? कि सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्यो। कुन–कुन हो ?’, उनको प्रश्न थियो।
सभामुखबाट उठेको विषय भनेको सार्वजनिक महत्त्वको हुने सुवालको भनाइ छ।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसप्रति पत्रकारका विभिन्न संघ संगठनले विज्ञप्ती निकाल्दै आपत्ति जनाएका छन् ।