1679209905.jpg)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान हुन सकेन । चुनाव भएका क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए । कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको उनको भनाई छ ।
काठमाडौं उपत्यकाका केही क्याम्पसहरूमा भने अनेपक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ । त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका चर्चित क्याम्पसमा भने अनेपक्षित रूपमा निकै कम मत खसेको हो ।
कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । ती क्याम्पसहरूमा केही समयमा नै निर्वाचन मत परिणाम सार्वजनिक गरिनेछ । ती बाहेकका क्याम्पसहरूमा मध्यरातसम्ममा निर्वाचन मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेका छन् ।