शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

को बन्दैछ आइजिपी ?

को बन्दैछ आइजिपी ?

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    को बन्दैछ आइजिपी ?
    images

    नारायण न्यौपाने- 


    images
    images

    काठमाडौं ।  प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्दैछन् । 

        नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा बढुवा भएका छन् । अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्नेछन् । 

        हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन  । त्यसपछि रिक्त हुने आइजिपी पदमा नियुक्ति हुनेछ । 
        काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् । 

        'मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ', पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, 'सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।' पछिल्लो समयमा गृहमन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ । 

        एआइजीमा पदोन्नति हुनुभएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च ९महानिरीक्षक० पदको प्रतिस्पर्धी बन्ने महिला हुन् । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिईनन् । 
        बज्राचार्यसँगै डिआइजीमा बढुवा हुनुभएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि पर्नुभएकाले उहाँ महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिला प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी छन् । 

        सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा पाँचमध्ये एकलाई आइजीपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो । 

        प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ । 

        यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन। 
        हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनःरिक्त हुन्छ । 

        हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

        चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्म रहनेछ ।  

        यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्को आलोचनासमेत हुने गरेको थियो । पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउनुहुन्छ ।  गृहमन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति हुनुभएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।-रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार