
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।
बुधबार नै काठमाडौंमा बसेको बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसले दिने भएपछि गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने देखिएको छ ।
विश्वासको मत दिए पनि सरकारको नेतृत्व, भागवण्डाका विषयमा भने छलफल हुनुपर्ने कांग्रेसको माग छ । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई नेमकिपाका ३ जना सांसदबाहेक १०५ जना सांसदले विश्वासको मत दिएका थिए ।