Sajha Post
माओवादीले आज विश्वासको मत फिर्ता लिने, गण्डकीमा एमाले नेतृत्वको सरकार संकटमा

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक बोलाइएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो निर्देशन दिएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । 

गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ ।

२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङ दीपक मनाङे प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ ।

machhapuchhre bank

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ । एमाले नेतृत्वको सरकार ढल्दा  त्यहाँ कांग्रेस वा माओवादी कस्को नेतृत्वमा सरकार बन्छ भन्ने टुंगो छैन । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update