
विराटनगर । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पहिचानवादी नेता पदम लिम्बूको निधन भएको छ।
प्रदेशको नाम ‘कोशी’ हटाउनुपर्ने माग राखी यही चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको कुटाइबाट घाइते लिम्बुको उपचारका क्रममा बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको हो।
विराटनगरमा भएको जनप्रर्दशनका क्रममा निषेधाज्ञा तोडेर अगाडि बढेपछि सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा उनी घाइते भएको संयुक्त संघर्ष समितिले जनाएको छ। बीपी प्रतिष्ठानको आईसीयूमा उपचारत लिम्बूको थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ लाने तयारी भइरहेका बेला निधन भएको संघर्ष समितिले जनाएको छ।
धरान–१५ का पदम लिम्बूलाई सहिद घोषणा गर्न र उनको मृत्युको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरिएको छ। ४२ वर्षीय लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सहकमान्डर थिए ।