
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताए ।
‘गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्रीलाई अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ । अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ’, सचिव पौडेलले भने ।
उनका अनुसार प्रदेश सरकार पनि आलोपालो प्रणाली अनुसार बन्नेछन । माओवादी बैठकमा संसदलाई गतिशील रुपमा सञ्चालन गर्ने, ऐन कानुन निर्माणमा तिब्रता दिने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुंग्याउने विषयमा छलफल भएको पौडेलले जानकारी दिए ।