
काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि २० मा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्यो । जितका लागि पाएको २ सय ५९ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य थियो । र, त्यसलाई दक्षिण अफ्रिकाले सहजै हासिल गर्यो ।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि ककले ४४ बलमा ९ चौका र ८ छक्कासहित १ सय रनको शानदार शतकीय इनिङ खेले । अर्का ओपनर रिजा हेन्ड्रिक्स २८ बलमा ११ चौका र २ छक्कासहित ६८ रन बनाएर आउट भए । । पहिलो विकेटका लागि रिजा र डि ककले १०.५ ओभरमा १ सय ५२ रनको विष्फोटक साझेदारी गर्दै जितको आधार तयार गरेका थिए ।
यसअघि सुपर स्पोट्र्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । वेस्टइन्डिजका जोनसन चाल्र्सले ४६ बलमा १० चौका र ११ छक्कासहित १ सय १८ रनको विष्फोटक शतकीय इनिङ खेले । तर त्यो इनिङ जितका लागि पर्याप्त भएन । त्यसपछि दक्षिण अफ्रिकाले झन विष्फोटक प्रदर्शन गर्यो । चौका र छक्काको वर्षा भएको यो खेलमा ६ वटा विश्वकीर्तिमान कायम भएका छन् ।
१. सर्वाधिक उच्च योगफल पूरा
यो टि २० मा पूरा भएको सर्वाधिक उच्च योगफल हो । यसअघि टि २० मा उच्च योगफल २०१८ मा अष्ट्रेलियाले पुरा गरेको थियो । न्युजिल्यान्डविरुद्ध उले २ सय ४४ रनको लक्ष्य १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । उतिबेला अष्ट्रेलियाले पुरा गरेको भन्दा १५ रन बढीको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमै हासिल गर्यो ।
२ एकै खेलमा सर्वाधिक रन
दक्षिण अफ्रिका र वेस्टइन्डिजबीको खेलमा कुल ५ सय १७ रन बन्यो । टि २० इतिहासमा कुनैपनि खेल र प्रतियोगितामा बनेको सर्वाधिक रन हो । यसअघि मुल्तान सुल्तान र क्वेटा ग्ल्याडियटर्सबीच यसै महिना ५ सय १५ रन बनेको थियो । तर दक्षिण अफ्रिकाले २५९ र वेस्टईण्डिजले २५८ रन बनाएर ५१७ जोडे, जुन नयाँ कीर्तिमान बन्उो ।
३. पहिलो पटक ५ सय रन
टि २० अन्तर्राष्ट्रियम इतिहासमा पहिलो पटक ५ सय रन बनेको छ । यी दुई टोली गरी कुल ५ सय १७ रन बनेको थियो । टि २० अन्तर्राष्ट्रियमा मा यसअघि भारत र वेस्टइन्डिजबीचको खेलमा २०१६ मा ४ सय ८९ रन बनेको थियो । न्युजिल्यान्ड र अष्ट्रेलियाबीचको खेलमा २०१८ मा ४ सय ८८ रन बनेको थियो । त्यो रेकर्ड पनि या खेलमा टुट्यो ।
४. एकै खेलमा सर्वाधिक छक्का
वेस्टइन्डिजले २२ र दक्षिण अफ्रिकाले ट १३ गरी खेलमा कुल ३५ छक्का प्रहार भएको थियो । यो टि २० अन्तर्राष्ट्रियको एकै खेलमा सर्वाधिक छक्का हो । २१० रन त छक्काबाट मात्रै बन्यो । वेस्टइन्डिजले एकै खेलमा २२ छक्का कीर्तिमान बराबर गरेको छ । एकै इनिङमा यो सर्वाधिक छक्का प्रहार भएको हो । जुन कीर्तिमान वेस्टइन्डिजले अफगानिस्तानसँग बराबर गरेको छ । अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध पनि एकै खेलमा २२ छक्का हानेको थियो ।
५. सर्वाधिक बाउन्ड्री
दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचको खेलमा कुल ८१ बाउन्ड्री अर्थात चौका र छक्का प्रहार भयो । कुनैपनि टि २० खेलमा प्रहार भएको धेरै चौका र छक्का हो । २१० रन त छक्का र १८४ रन चौकाबाट बन्यो ।
यसअघि पाकिस्तान सुपर लिगमा केही साता अघि मुल्तान सुल्तान र क्वेटा ग्ल्याडियटर्सबीचको खेलमा ७८ बाउन्ड्री प्रहार भएको थियो ।
६. टेस्ट टोलीको पावर प्लेमा सर्वाधिक रन
दक्षिण अफ्रिकाले सुरुवाती ६ ओभरमै १ सय २ रन बनाएको थियो । त्यो कुनैपनि टेस्ट टोलीले पावर प्ले सुरुवाती ६ ओभर टि २० अन्तर्राष्ट्रियमा बनाएको सर्वाधिक रन हो । यसअघि पावर प्लेमा वेस्टइन्डिजले श्रीलंकाविरुद्ध २०२१ मा ४ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ५.३ ओभरमा एक सय रन पूरा गरेको थियो ।