Sajha Post
पेरिस ओलम्पिक: दुई देशले नाम फिर्ता लिएपछि नेपालले पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने

काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ । 

अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो । छनोटमा नेपाल समूह सी मा रहेको थियो । नेपाल सम्मिलित समूहमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थियो । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका हुन् ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले चैत २२ र २५ गते प्रतिष्पर्धा गर्ने छ । दुवै खेल साँझ ६ बजे शुरु हुनेछ । 

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । एन्फाले दुई खेलका टिकट दर पनि तोकेको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको छ । छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमवार ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update