Sajha Post
यस्तो छ, मन्त्रालय भागबण्डामा प्रधानमन्त्रीको प्रस्ताव र दलहरुको दाबी, कसले कति मागे ?

काठमाडौं  । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरूले मन्त्रालयको भागबण्डा सम्बन्धी आ–आफ्ना प्रस्ताव राखेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा गठबन्धन दलहरूले पार्टीका तर्फबाट मन्त्रालय संख्या दाबी गरेका हुन् भने प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रस्ताव पनि पेश गरेका छन् । 

बैठकमा गठबन्धनको प्रमुख दल कांग्रेसले नौ मन्त्रालयमा दाबी गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका एक नेताले जानकारी दिए । 

प्रधानमन्त्रीको प्रस्ताव यस्तो छ :

प्रधानमन्त्री प्रचण्डले आफ्नो तर्फबाट मन्त्रालय भागबण्डाको प्रस्ताव गरेका छन्। प्रचण्डले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा माओवादी केन्द्रलाई ५ मन्त्रालयको प्रस्ताव गरेका छन।

उनले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई ३ मन्त्रालयको प्रस्ताव गरेका छन्। तर रास्वपा आजको बैठकमा सहभागी थिएन। बैठकमा प्रचण्डले रास्वपा तत्काल सरकारमा आएन भने पनि उसका लागि ३ मन्त्रालय खाली राख्नुपर्ने बताएका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई २- २ मन्त्रालयको प्रस्ताव गरेका छन् । 

जनमत पार्टी, नागरिक उन्मुक्ति, लोसपा  र स्वतन्त्रका तर्फबाट १-१ जनालाई मन्त्री बनाउन प्रचण्डले प्रस्ताव गरेका बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘नेकपा एस र जसपाले ३ मन्त्रालय मागेका छन्। जनमत पार्टीले १ मन्त्री र १ राज्यमन्त्री मागेको छ। बुधबार यसबारेमा थप छलफल हुन्छ।’ उनले भने, 'कांग्रेसले नौ दाबी गर्दा प्रधानमन्त्रीले आठ प्रस्ताव गर्नुभएको छ । धेरै समस्या हुने देखिदैन । कुरा मिल्छ ।’ 

लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरूका प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसद छन् ।

machhapuchhre bank

आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे समेत कुराकानी भएको थियो। मन्त्रालयको संख्या प्रस्ताव गर्ने बेलामा प्रचण्डले आफूले सबै दलसँग छुट्टाछुट्टै कुराकानी गरेको आधारमा राखेको बताएका थिए।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update