Sajha Post
मधेसदेखि केन्द्रसम्म उपेन्द्रको स्थान लिने सिकेको रणनीति: यादवलाई ठाउँ-ठाउँमा राउत तगारो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा सिके राउत दुबै सत्ता घटक हुन् । दुबै सत्ता गटबन्धनमा छन् । तर गत निर्वाचनदेखि नै उनीहरु प्रतिश्पर्धी भएका छन् । गत मंसिर ४ को निर्वाचनमा राउतले यादवलाई सप्तरी २ मा १८ हजार ६३ मतान्तरले पराजित गरे ।

संसदीय राजनीतिका चतुर खेलाडी यादवले आफू पराजित भए पनि संसद छिर्न अनेक जुक्ति लगाइरहेका छन् । त्यति मात्र होइन आफू फेरी निर्वाचित भएर संसदीय दलको नेता हुँदै मन्त्री हुने यादवको चाहना छ । त्यसै खेलअनुसार चुनावको बेला तत्कालिन सत्ता गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्न पुगे । उक्त गठबन्धनले पनि उनको संसद पद जोगिएन । उनले फेरी प्रचण्ड गठबन्धनमा हात अघि बढाए ।

प्रचण्ड देउवासँग वार्गेनिङ गरेर उपराष्ट्रपति उनकै पार्टीले पायो । संसदीय दलको नेता बनाएका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाए । यसको कारण थियो बारा २ र संसदीय दलको नेताको सिट खाली गराउनु । दुबै सिट खाली गराउन उनी सफल पनि भए । तर अव उनको योजनामा सबैभन्दा ठूलो तगारो बनेको छ जनमत पार्टी अर्थात सिके राउत ।

यादव र राउत राजनीतिक रूपमा पुनः आमने–सामने हुँदै छन् । चैत ३ को उपराष्ट्रपति निर्वाचनमा आ–आफ्ना उम्मेदवार उठाएका यी दुई नेता आसन्न उपनिर्वाचनमा फेरि टकरावमा उत्रँदै छन् ।

मधेसमा यादव–राउत एक–अर्काको बलियो प्रतिस्पर्धी र विरोधीका रूपमा देखिएका छन् । बारा २ मा जनमतले उम्मेदवारी दिने घोषणा गरेर यादवसँग राजनीतिक टकराव लिने तयारी गरिसकेको छ । त्यसका लागि राउतले उपयुक्त उम्मेदवार पनि खोजिसकेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहालाई राउतले पार्टी प्रवेश गराएका छन् । बारा २ मा उपेन्द्र यादव उपचुनावमा उठ्ने भएपछि राउतले यादव विरुद्ध लडाउने पात्रको खोजी गर्दै कुशवाहालाई पार्टी प्रवेश गराएका हुन । कुशवाहाले उपचुनावमा उम्मेदवार बन्ने घोषणा पनि गरेका छन् ।

यो हिसावले यादवको संसद् प्रवेशमा दोस्रोपटक पनि बाधक बन्ने राउतको रणनीति छ । तर मंसिर ४ को हारको बदला लिने योजना बनाउँदै छन् यादव पनि । लोसपाले पनि उम्मेदवारी दिने निर्णय गरेर यादवका लागि चिन्ता थपिदिएको छ । यसले बारा २ को उपनिर्वाचनलाई रोचक मात्रै होइन, पेचिलो पनि बनाउने देखिएको छ ।

‘बारा जिल्लामा कोही नेता–कार्यकर्ता छैनन् र बाहिरबाट उम्मेदवार आएर यहाँ लड्नुपर्ने ?’ गत बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पुगेर राउतले यादवलाई चुनौती दिँदै यादव ‘फिरंगी’ उम्मेदवार भएको टिप्पणी गरे ।

machhapuchhre bank

गठबन्धनका ठूला दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बारा २ मा यादवलाई गठबन्धनको उम्मेदवार बनाउन तयार छन् । अर्कोतिर जनमत भने यादवलाई रोक्न बाराको उपनिर्वाचनका लागि तयारीमा जुटिसकेको छ । जनमतसँगै लोसपा र नागरिक उन्मुक्ति पनि यादवविरोधी मोर्चामा छन् ।

मधेस र केन्द्रीय राजनीतिमा पनि यादवको भूमिका खुम्च्याउन जनमत र लोसपाका नेताहरू मोर्चाबन्दीमा छन् । संसद् छिर्ने यादवको ‘मिसन’ रोक्न सत्तागठबन्धनकै जनमत, लोसपा र नागरिक उन्मुक्तिले अलग गठबन्धनको गृहकार्य गरिरहेका छन् ।

लोसपाका नेता डा सुरेन्द्र झाले जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकता भएकाले बारा २ मा तीन दलको साझा उम्मेदवार रहने बताउँछन् । यादव १० दलीय गठबन्धनको साझा उम्मेदवार बन्न नसक्ने उनको भनाइ छ । ‘उपेन्द्र गठबन्धनको साझा उम्मेदवार बन्न सक्नुहुन्न । मंसिरमा एमालेसँग चुनावी गठबन्धन गर्न हिँडेको जसपाबाट अहिले उम्मेदवार बनाउन मिल्दैमिल्दैन,’ उनले भने, ‘यो सत्तागठबन्धन हो, चुनावी गठबन्धन होइन ।’

बारा २ को अंकगणित
गत मंसिर ४ को निर्वाचनमा बारा २ मा प्रत्यक्षतर्फ तत्कालिन सत्ता गठबन्धन र जसपा–एमालेको विपक्षी मोर्चावीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनबाट माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र विपक्षी गठबन्धन जसपाका रामसहायप्रसाद यादव उम्मेद्वार थिए । नजिकको प्रतिस्पर्धामा जसपाका यादवले माओवादीका कुशवाहालाई ३५४ मतान्तर पराजित गरे । यादवले १३८२२ र कुशवाहाले १३४६८ मत पाएका थिए । जसपाकै बागी उम्मेद्वार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत ल्याउँदैै तेस्रो बनेका थिए । रामकिशोर जसपा फर्किसकेका छन् ।

समानुपातिक मतपरिणामअनुसार भने जसपा पहिलो स्थानमा छ । त्यहाँ जसपाको १३ हजार २४२, कांग्रेसको ११ हजार १७९, एमालेको ९ हजार १९३, जनमत पार्टीको ८ हजार ८४६, लोसपाको ४ हजार २३५, नागरिक उन्मुक्तिको ३ हजार ७९४, माओवादीको तीन हजार २६५ मत आएको छ ।


समानुपातिक मतपरिणाम केलाउँदा जसपासहित एकीकृत समाजवादी र माओवादीको गठबन्धन बनेको अवस्थामा जसपाको कुल मत १८ हजार पाँच सय पुग्छ । उता जनमतको समानुपातिक मत भने ८ हजार ८४६ छ । जनमतलाई लोसपा र उन्मुक्तिको समर्थन रहेको अवस्थामा उसको मत १६ हजार आठ सय ७५ पुग्नेछ । नौ हजार एक सय ९३ समानुपातिक मत ल्याएको एमालेले पनि त्यहाँ आफ्नै उम्मेदवार उठाउने तयारी थालिसकेको छ । यस्तो अवस्थामा ११ हजार १७९ मत ल्याएको कांग्रेसको भूमिका निर्णायक हुने देखिन्छ ।

राउत किन पाखा लगाउन चाहन्छन् यादवलाई
सिके राउत मधेसको उदीयमान नेता हुन् । उनको विगत आन्दोलनको मुभमेन्टबाट भन्दा पनि विखण्डनकारी अभिव्यक्तिबाट चर्चामा छ । उता उपेन्द्र भने मधेस आन्दोलनबाट चर्चामा आएका र मधेसमा भिजेका नेता हुन् । उनको प्रभाव प्रदेशदेखि केन्द्रसम्मै छ । मधेस मामलाका जानकार विजयकान्त कर्णका अनुसार राउतले यादवको स्थान लिन चाहन्छन् । जसले गर्दा हरेक ठाँउमा राउत यादवका अवरोधक भएका छन् ।

‘राजनीतिमा आफूलाई स्पेश बढाउने ठाउँ खोजिन्छ, राउतलाई लागेको छ, यादवलाई राजनीतिक रुपमा नसिध्याए मधेसदेखि केन्द्रसम्म आफ्नो स्पेश बढ्दैन, विष्लेशक कर्ण भन्छन्, ‘त्यसैले राउत तराइ मधेसमा आफ्नो क्षेत्र विस्तार गर्दै प्रभाव बढाउन खोजिरहेका छन् ।'

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update