
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोरोना महामारी कम भएसँगै निजी क्षेत्रले दिएका सुझावलाई सरकारले समयमा कार्यान्वयनमा ल्याउन नसक्नु वर्तमान समस्याको कारक भएको दाबी गरे ।
उनले मुलुकको र्थतन्त्रमा वर्तमान अवस्था आउँछ भनेर पहिला नै सरकारको ध्यानाकर्षण गराएको बताए । उनले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई सरकारले प्राथमिकता नदिएको आरोप लगाए । ढकालले सरकारले करिब ६ महिना आयातमा प्रतिबन्ध लगाए पनि नाकामा कडाइ नहुँदा सवारी साधनमा आउनेभन्दा बाहेक अन्य समानमा रोक नभएको बताए ।
उनले त्यसरी नाकाबाट आउने सामान नियन्त्रण गर्न नसक्दा सरकारले अर्बौं राजस्व गुमाएको बताए । उनले सरकारले प्राप्त राजस्व संकलन गर्न नसक्दा कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताए ।
उनले सरकारले निजी क्षेत्रले उठाएका मागलाई निजी क्षेत्रको मात्र हो भनेर बुझ्न नहुने बताए । उनले निजी क्षेत्रले उठाएका विषयलाई सरकारले गम्भीर रुपमा लिएर नीति नियम बनाउन सके अर्थतन्त्र सुधार हुन समय नलाग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, फ्लोरिकलचर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानीमा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको बताए । उनले बैंकहरूले कृषि क्षेत्रलाई अन्य क्षेत्रसँग हालेर कर्जा प्रवाह गरिरहेको भन्दै वास्तविक कृषकहरूले कर्जा पाउन नसकेको उल्लेख गरे ।
उनले सरकारले अन्य बैंकसँग नभए पनि कृषि विकास बैंकसँग समन्वय गरेर कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको समय अवधि बढाउन माग गरे ।
उनले फ्लोरिकलचर क्षेत्रमा लगानी गर्दा लगानीको ८० प्रतिशत लगानी भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै २० प्रतिशत कृषिमा लगानी गरेर ५ वर्षको कर्जा चुक्ता गर्नसक्ने अवस्था नभएको बताए ।