
काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार बेलुकी भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो ।
लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बन्यो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे ।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर र लाओसले ३ हजार डलर प्राप्त गरेको छ। नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्सको उपाधि जितेको हो ।यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । तर २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए । एरिक विष्टले दिएकाे पासमा आयुषले सुन्दर गोल गरे ।
त्यसपछि ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अन्जन विष्टको पासमा मनिषले उत्कृष्ट गोल गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० , राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई लगायतले पुरस्कृत गरे ।